ओझेल भित्रका सचेतना अभियान
No icon

इतिहासमा नलेखिएको  स्याँङ्खजाको  क्रान्ति

सुरेन्द्र थापा मगर 

यतिवेला  क्रान्तीका कुरा बेमौसमी बाजा जस्तो भएको छ । विश्व कोरनाले तहस नहस भइरहेको छ। मान्छेको मृत्युका खवर ले सञ्चार जगत छाएको छ। प्रत्येक मान्छे आफू बाँच्न कोशिस गरिरहेको छ । मान्छेका मोवाइलका स्क्रीनमा समबेदनाका लस्करहरु छाएका छन ्। यस्तोबेला इतिहासका दिनहरु सम्झने सायद कमै फूर्सद हुन्छ हामीलाई। कोरनाको भयावह विच हामी बाँच्न बाध्य छौ । हाम्रा दैनिकीहरु फेरिएकाछन ्। हिजो आफन्तसग भेटहुदा हातमिलाउने चलन अव नमस्कारमा परिणत भएको छ। मुख खोलेर दाँत देखाएर हाँस्ने हाम्रो बानी मास्क भीत्रबाट आँखाले हाँस्नु पर्ने भएको छ । तैपनि हामीले हाम्रा ऐतिहासिक दिनहरुलाई सम्झनु पर्छ। बाँच्न होडवाजीमा विगतको क्रान्ती विर्सन हुदैन । हाम्रो इतिहासले हामीलाई पढाएको    क्र्रान्तीका दिवशहरुमा २००७ सातसालको राणा विरोधी क्रान्ती पहिलो हो । त्यस भन्दा अगाडी गोर्खामा लखन थापाको विद्रोह , सुपति गुरुङ्खको विद्रोह पश्चिममा एक दलितको विद्रोह सम्झन लायक छन् । वि. सं. २००७ सालको क्रान्तीको सेरोफेरोमा तत्कालिन पश्चिम ४ नम्वर नुवाकोट हाल स्याँङ्खजा जिल्लाको पुतली बजार नगरपालिकाको वडा नं. ८ वहाकोटमा होविर आलेको नेतृत्वमा क्रान्ती भएको थियो । विस २००७ साल जेठ ११ गते तत्कालिन बडाहाकिम ले नर विक्रम राणाको नेतृत्वमा शसस्त्र शैनिकलाइ वहाकोटमा हमला गर्न पठाउदा झडप भएको थियो । राजनितीक आन्दोलनको इतिहास (लेखक दुर्गा नारायण ढकालं) पुस्तकका अनुसार राणा विरोधी आन्दोलनमा वहाकोटका जनताहरुले २००५ साल देखिनै मादल बजाउदै नारा लगाउदै आएका थिए । कम्युनिष्ट नेता निर्मल लामा , नेपाली काग्रेसका जमान सिङ गुरुङ्ख र प्रजापरिषदका होविर आले ले त्यस भेगमा राणा विराधी आन्दोलनलाई अघि बढाएका थिए ा आन्दोलनकै दौरानमा २००७ साल जेठ ११ गते हतियारधारी राणाको सेनासग त्याँहाका जनताले ढुङ्खमुढा लिएर गरेको शसस्त्र विद्रोह इतिहासको एउटा अविस्मरणीय आन्दोलन थियो । राणाको सेनासग आमने सामन्ने भएर लडनू तृतिवेला ठूलो जोखिम थियो । 
तेतिबेला को क्रान्तीको मुख्य योजनाकार कम्युनिष्ट नेता निर्मल लामा नै थिए। निर्मल लामालाई सुवर्ण शमशेरले जनसेनागठन गर्ने काम सुम्पेका थिए । विश्वेश्वर प्रसाद कोइरालाले २००७ सालको क्रान्ती हुनु अघिनै उनलाई पटना बोलाएर स्याँङ्खजा ,बन्दिपुर, गोर्खा कब्जा गर्ने मुक्तिसेनाको कमाण्डर बनाएर पठाएका थिए । तेतिबेला दुइवटा रिभल्भर र स्टेगन बिग्रेको रहेछ त्यसैले बाटोमा फालेर पटका मात्र बोकेर १८ जनाको विद्रोही जनसेना लिएर निर्मल लामा स्याँङ्खजा नुवाकोट कब्जा गर्न सुरिएर नेपाल पसेका थिए   निर्मल लामाका अनुसार तेतिबेला नुवाकोटमा १५,२० जना कालो लवेदा सुरुवाललाउने राणाका मिलिसियाहरु रहेका थिए । निर्मललामा राणा विरोधी आन्दोलनको क्रममा स्याँङ्गजाको कोल्माबहाकोट,काहुले भारकोट,राँङ्खभाङ्ख आदी गाउमा जानुभएको र ५०, ६० वटा भरुवा बन्दुक समेत जम्मा गरेको उहाँको आत्मवृतान्तमा उल्लेख छ । लामाले मुक्तियोद्धाको रुपमा ५०।६० जनमानिसहरु पनि भर्ना गरेका थिए। बहाकोटमा उनले होविर आलेकै घरमा वसेर भुमीगतरुपमा सगठन निर्माण गरी क्रान्तिको वातवरण तयार गरेका थिए । वहाकोट भञ्ज्याँङ्गको क्रान्तिबारे इतिहाँसमा तेति लेखिएको छैन तापनि स्थानिय तहमा आफै जागरुक भएर इतिहास खोतल्ने प्रयास भएका छन। त्यो काम स्थानिय युवाहरुबाट भएको छ। जसअनुसार वहाकोटबाट प्रकाशित स्मारिकामा  याम बहादुर खवासद्धारा लिखित अनुसन्धानात्मक लेख अनुसार बहाकोटमा राणा विरोधी आन्दोलनहुनु भन्दा अगाडी बहाकोटको बजारथुमको जङ्खलमा श्रीमाने दमै(लालबहादुर ) होविर आले र रमणबहादुर हमाल जम्माभएछन्। श्रीमाने दमैले झोलाबाट एउटा पोको झिकेर अत्यन्त गोप्य कुरा छ म सँग यो कुरा भङ्ख भयो भने मेरो जीवन बरवाद हुन्छ भनि ा गोपनियता भङ्ख नगर्ने कसमस्वरुप बनको काढाले तीनैजनाले नङ्खमुनि कोरेर रगत निकाली सपथलेखि राणा विरोधी आन्दोलन गर्ने कसम खाएका रहेछन्। श्रीमाने दमैले भनेको  त्यो ज्याँन जाने चिज भनेको भारतमा छापिएको राणा विराधी पर्चा थियो। 

 राणा विरोधी गतिविधि गरेको सुराकी माफर्त थाहा पाएपछि नुवाकोटबाट राणाका मीलिशीयाहरु २००७ साल जेठ ११ गते निरविक्रम राणाको नेतृत्वमा वहाकोटमा हतियार सहित आए । बाटामा आउदै गर्दा वहाकोट भन्दा तल गोठमा भैसीलाई घाँसहालेरघरतर्फ जान लागेको भारतीय सेनाबाट छुटृीमा घरआएका चित्रवहादुर खवास सँग उनीहरुको जम्का भेट भएछ । सेनाले उनलाई “यता काँग्रेस आएका छन् ? उनीहरु कहाँ कहाँ वस्छन देखा भनेछन” उनले मैले चिन्दीन भनि सरासर आफ्नो घरआएछन् । एक छिनपछि चित्रबहादुर खवासलाई घरमा भात खाइरहेको बेलामा उनको घरमा एक हुल सिपाहीहरु आएर “ तल आइज ए लाहुरे” भनि बोलाएर तल चौतारमा लगीकेरकार गरेछन् ।   “यहा को को नेता आउछन भन” भनेर बलजफ्ती हप्की दप्की गर्दा समेत उनी अडिग भएर आफूलाई थाहा नभएको बरु गोली हाने हान भनेछन्  पछि पुर्ण बहादुर शाही र सु.चित्र बहाुर थापा समेतलाई बाधेर पोखरीमा राखियो ।  एक एक गर्दै केही अन्य पुरुषहरुलाई राणाका सिपाहीहरुले कब्जामा लिई कुटपिट गर्न थाले पछि गाउँमा हल्लाखल्लाभयो “लौ राणाकाफौजले गाँउले दाजुभाईलाई बाँधेर कुटे”भनेपछि  त्यहाँका स्थानिय आमाहरु आफ्ना मान्छे छुटाउन सीपाहीसँग आमने सामने भिडन्तमा उत्रेछन् । सवै भन्दा पहिेले  समल जेठी(ईन्द्रकुमारी मल्ल) ले तगारो झिकेर राणाकासीपाहीलाई आक्रमण गरेर कयौलाई घाइते बनाएका र यै जरीयाबाट राणाका सीपाहीहरु सँग तेतिबेलाझडप भएको स्थानीयबासी बताउछन् । राणा को सीपाहीसँग ढुङ्गामुढा ,लौरो , चिर्पट, तगारो लिएर लडने वीरङ्गानाहरुको शाहस नालापानीको युद्धझै थियो । फरक यति छ नालापानीको युद्धको गाथा नेपाली इतिहासमा  लेखियो तर स्याङ्गजा वहाकोटको राणा विरोधी आन्दोलन लेखिएन । यसरी शाहसपूर्ण लड्ने महिलाहरुमा ललितकुमारी गुरुङ्ग ,खगीकुमारी आले,यामकुमारी मल्ल ,ठुली माहीली(कृष्णकुमारी थापा) ,नरकुमारी खवास,पारु राना ,दुर्पाराना, पुर्णकुमारी आले,नन्दकुमारी आले,छन् भने पुूरुषहरुमा हेमबहादुर थापा ,कोठे सार्की,पुर्ण बहादुर शाही, बदले थापा,ढाकबहादुर मल्ल, जीतबहादुर खवास,चित्रबहादुर थापा,जंक्गे थापा (गाँडाकौला काइला)  लोकबहादुर सिह ,उजिरसिह शाही ,र लाल बहादुर आले लगायतका गाउलेहरु थिए । झडपमा स्थानिय उजिर शाही, भीमकुमारीलाई गोली लागेको र दोजिया ललितकुमारी शाहीको त्यै घाउबाट पछि मृत्यु समेत भएको बताइन्छ । त्यस आन्दोलनमा राणाका मिलिशियाहरुले निदोर्श २८ जना गाँउलेहरुलाई गिरफ्तार गरेर नुवाकोट जेल लगेका थिए । 
वहाकोट भञ्याङ्ग भएको राणा विराधी आन्दोलनमा नेतृत्व गर्ने मुख्य व्यातmी होवीर आले नै थिए । राणाले उनलाई गिरफ्तार गर्ननै तेतिवेला सेना पठाएको थियो । मुतिmयोद्धाको कमाण्डर बनेर स्याँङ्गजा नुवाकोटको क्षेत्रमा खटिनु भएका होविर आले प्रजातान्त्रिक काँग्रेसमा सम्मीलित भई काग्रेसको झण्डा लिएर त्यस भेगमा सभा जुलुुस गर्दै राणा विरोधी आन्दोलन चर्काउनु भएको थियो । तेतीखेर राणका सिपाहीहरुले होविर आलेलाई पक्रन उनको घर घेरेका थिए तर छापामार शैलीमा होविर आले राणाको पञ्जाबाट फूत्कनु भयो । उहाँलाई गिरफ्तार गर्न नसकेपछि राणाका सीपाहीहरुले उहाँको घर खानतलासी गर्ने नाममा घरका सबै समानहरु बारीतिर फाल्दीएका थिए । गरिफ्तारीबाट बचेपछि उहाँ राणा शासन विरोधी आन्दोलनमा     जुटिरहनु भयो ।  राणाशाहीले उहाँको टाउको लिएर आउनेलाई रु६०००० साठीहजार नगद र लेप्टीनेन्ट दर्जा दिने सम्मको घोषणा गरेको थिए । तर राणाको हरप्रयासले पनि उनलाई पक्रन सकेन । बरु उल्टो उनीले जमानसिह गुरुङ्ग संग मिलेर नुवाकोट कब्जा गर्ने शाहसपुर्ण काम गरेर आफ्ना साथीहरु छुटाउन सफल भएका थिए । दिल्ली सम्झौता पछि होविर आलेको काग्रेससंग  मोह भङ्ग भएपछि कम्युनिष्ट पार्टी संग आबद्ध भएका थिए भनिन्छ। पछिल्लोकाल खण्डमा उहाँ राजाबाट मनोनित माननीय पनि हुनु भयो । जीवनको अन्तिमकाल खण्डमा उहाँ धर्मकर्मका पुस्तक अध्ययन गरेर समाजमा अर्तिउपदेश दिदै समय गुजार्नु हुन्थ्यो। जेहोससमाज सुधारक क्रान्तियोद्धा होविर आले इतिहासले विर्सेको युगपुरुस हो ा
यसरी हेर्दा राणाविरोधी आन्दोलनमा स्याँङ्गजा वहाकोट भञ्ज्याङ्गको आन्दोलन  नेपालको ग्रमिण भेगमा पहिलो थियो । त्यँहाका स्थानीयबासीले राणाविरुद्ध गरेको सर्घष तेतिबेला साच्चै अनुकरणीय थियो । वहाकोट भञ्ज्याङ्गका ती विरङ्गना नारीहर जस्ले काखमा नानी च्याँपेर राणाको सेनासंग लडे भिडे नालापानीको युद्धको झल्को दिन्छ क्रान्ति बजारको इतिहास सम्झदा । विं सं. २००७ साल जेठ ११ गते करिव ११बजे नै त्यहाँ राणाका सिपाही(मिलेसिया)सग भएको शशस्त्र शघर्षको विरतालाई सम्झदै हरेकवर्ष स्याँङ्गजाको बहाकोट भञ्ज्याँङ्गमा विविध कार्यक्रमसहित मेला लाग्ने गर्छ । त्यसभेगमा लाग्ने हाटबजार मध्ये पछिल्लो मेला हुदा क्रान्तिबजारलाई कान्छी बजार भनेर जनजिभ्रोमा भन्ने गरिन्छ। जुनसुकै क्रान्तिको पनि इतिहास  गर्बिलो हुन्छ तर अक्सर शहरबजारको क्रान्ति देखिन्छ लेखिन्छ तर विडम्वना गाँउघरको क्रान्ति देखिदैन लेखिदैन। अब इतिहासमा स्याँङ्गजा वहाकोटको  भञ्ज्याँङ्गको त्यो क्रान्ति लेखिनु पर्छ देखिनु पर्छ।  
 

Comment As:

Comment (0)